गौ हत्यामा निर्मम बन्यो नरैनापुर : प्रमाणित भए गाउँपालिकाको सेवाबाट बञ्चित गराइने, सूचना दिनेलाई १५ हजार पुरुस्कार


गौ हत्यामा निर्मम बन्यो नरैनापुर : प्रमाणित भए गाउँपालिकाको सेवाबाट बञ्चित गराइने, सूचना दिनेलाई १५ हजार पुरुस्कार

नरैनापुर १२ जेठ : बाँकेको नरैनापुर गाँउपालिकामा गौ हत्याको घट्ना बढ्न थालेपछि गाँउपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

नरैनापुर गाँउपालिकाको शुक्रबार बसेको गाँउ कार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरिन नपाओस् भन्दै गौ हत्यामा संलग्न भएको प्रमाणित भए एक वर्षसम्म गाँउपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।

पालिकाको शुक्रबार बसेको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सुरक्षाकर्मीहरुलाई गाँउपालिकाले अनुरोध गर्ने र जनतचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताए ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अधर्मी, अमानवीय कार्य गर्ने अपराधवादी तत्वहरुले एकपछि अर्को गर्दै नरैनापुरको सद्भावलाई खलल पु¥याउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चलखेल गरी रहेको बताउँदै गौ हत्या जस्तो जघन्य अपराधले गाँउपालिकालाई मर्माहित बनाएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

उनले गौ हत्यामा संलग्नलाई नियन्त्रणमा लिई कडा कारवाही गर्न सम्बन्धित निकायसँग अपील गरे ।

अध्यक्ष शाहले सर्वप्राणी रक्षार्थ लाग्न सबैसँग अपील गर्दै स्थानीय सरकार राष्ट्रिय जनावर गाईका विषयमा गम्भीर रहेकोले अपराधीक कार्यलाई जाति, धर्मसंग नजोडी मानवीय नाताले अपराध नियन्त्रण गर्नतर्फ लाग्न सम्बन्धित सबै पक्षसँग अपील गरे ।

नरैनापुर गाँउकार्यपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकमा वडा नम्बर–१ का अध्यक्ष इसाक जोलाह, वडा नम्बर–२ का अध्यक्ष मसूद अहमद शाह, वडा नम्बर–४ का अध्यक्ष मनोज शर्मा, वडा नम्बर–५ का अध्यक्ष कृष्ण चन्द्र मार्य, वडा सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृत खराल लगायतको सहभागिता रहेको थियो ।

संविधान र कानून के भन्छ ?

नेपालको संविधानको धारा ९ को (३) मा नेपालको राष्ट्रिय जनावर गाई भन्ने प्रस्ट लेखिएको छ जस कारण गाईको संरक्षण गर्नु पर्ने हुन्छ । व्यावसायिक र व्यक्तिगत रूपमा पालिएका गाई, गोरुहरू छाडा रूपमा नछाडी व्यवस्थापन गर्ने दायित्व व्यवसायी, समग्र नागरिक र राज्यको हुन्छ । नेपालको संविधानको धारा १६ मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ, धारा २६ मा धार्मिक स्वतन्त्रताको हक भन्ने उल्लेख छ ।
गाई नेपालको राष्ट्रिय जनावर हुनुको साथै हिन्दू धर्म परम्पराअनुसार लक्ष्मी मानी लक्ष्मी पूजामा गाई र गोरु पूजामा गोरुलाई पूजा गरी धार्मिक परम्परालाई निरन्तर रूपमा कायम राखिरहेको अवस्थाछ ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा दफा २८९ बमोजिम गाई वा गोरु मार्ने वा कुट्न नहुने, दफा २९० बमोजिम पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने भनी कानूनमा स्पष्ट उल्लेख गरेको छ । त्यसो गरिएको स्थितिमा सो गर्ने व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सक्ने अवस्था छ ।

संविधान र कानूनी व्यवस्थाको अतिरिक्त पशु कल्याण निर्देशिका, २०७३ को दफा ३(ठ) मा पशुलाई नियतवश वा लापरवाहीपूर्वक गरिएका कार्यहरूलाई पशुप्रति निर्दयी व्यवहार मानिने उल्लेख छ । सो निर्देशिकाको दफा १५ मा पशुको प्रयोग गर्दा कोर्रा, चक्कु, पासो, पीडा दिने, बिरामी वा घाइते पशुको उपचार नगर्ने आदि कार्यलाई निर्दयी कार्य मानेको छ । दफा ४ मा पशुलाई भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास र तनाव दिन नहुने भन्ने निर्देशिकामा उल्लेख छ । सोही ऐनको दफा १४ मा पशुधनीले कामबाट निवृत्त भएका वा वृद्धावस्थामा पुगेका पशुको आवश्यक हेरचाह तथा व्यवस्थापन गर्नुपर्नेछ भन्ने उल्लेख छ । निर्देशिकामा उल्लेख भएको व्यवस्थाको कार्यान्वयन गर्ने दायित्व जिम्मा स्थानीय सरकारको हुन्छ ।

यसरी संविधान, मुलुकी अपराध संहिता तथा पशु कल्याण निर्देशिका, २०७३ समेतले कानूनको रूप लिएको अवस्थामा निर्देशिकामा भएको पशु कल्याणसम्बन्धी व्यवस्थालाई लागू गर्ने र प्रभावकारी लागू गर्नको लागि समय समयमा अनुगमन गर्ने, प्रभावकारी कार्यान्वयन गर्ने कार्यतर्फ अग्रसर भएका छैनन् । नेपालको संविधानले राष्ट्रिय जनावर गाई भनी स्वीकार गरे तापनि फितलो व्यवस्थापन र कानूनबमोजिम जिम्मेवारी निर्वाह नहुँदा पशुअन्तर्गत गाई, गोरु, बाच्छा, बाच्छीहरू मार्ने, काट्ने, मासु खाने र विक्री वितरण भइरहेकोछ ।

थप समाचार

नेपालगन्जमै निर्धक्क काटिन्छ गाई : १६० किलो गाईको मासुसहित दुई पक्राउ

२५० किलो गाईको मासुसहित ५ जना पक्राउ, घटना लुकाउन प्रहरीलाई दवाव

बाँकेमा कहिलेसम्म काटिने राष्ट्रिय जनावर गाई ?

बाँकेमा गाई काट्नेक्रम रोकिएन, ७ किलो गाईको मासुसहित ३ जना पक्राउ