नाबालिग गायिका बलात्कार मुद्दामा पललाई सफाइ, बाल यौन दुरुपयोगमा अढाई वर्ष कैद

तनहुँ अदालतको फैसलापछि मात्रै उनी कति थुनामा बस्नुपर्छ भन्ने टुंगो लाग्ने, पीडितलाई १० लाख क्षतिपूर्ति दिन अदालतको फैसला


नाबालिग गायिका बलात्कार मुद्दामा पललाई सफाइ, बाल यौन दुरुपयोगमा अढाई वर्ष कैद

नेपालगन्ज २१ भदौ : नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल (पूर्णविक्रम)शाहले सफाइ पाएका छन् । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत नवलपुरले मंगलबार सफाइ दिएको हो । तर, बाल यौन दुरुपयोगको मुद्दामा भने उनी दोषी ठहर भएका छन् । उनलाई बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैदको फैसला भएको छ ।

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको ईजलासले मंगलबार सुनुवाइपछि २५ हजार रुपैयाँ जरिवानाको फैसला पनि गरेको छ । भने पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला भएको छ ।

यस्तै, अभिभावक र मिडियालाई समेत यो मुद्दामा सचेत गराउने फैसला भएको छ । फैसलामा पीडित नाबालिकाको अभिभावक र सञ्चारमाध्यमलाई पनि सचेत गराइएको छ । उमेर नपुगेकी आफ्नी नाबालिग छोरी घरबाहिर हुँदा अभिभावक साथमा नरहेको पाइएको कारण अभिभावकीय जिम्मेवारी पूरा नगरेकामा सचेत समेत गराइएको छ । साथै सञ्चारमाध्यमले पीडितको पहिचान खुल्ने गरी समाचार प्रकाशन तथा प्रसारण गरेको कारण पीडितको वैयक्तिक गोपनीयतामा क्षति पुगेको कारण त्यसतर्फ सचेत भइदिन आग्रह गरिएको छ ।

यसअघि बकपत्रका क्रममा पीडित र जाहेरवालाले नै फैसला बयान फेरेर घटना झुटो भएको बताएपछि उनले सफाइ पाएका हुन् । फैसलाको पूर्णपाठ भने आइसकेको छैन । शाह ७ महिनादेखि कारागार कार्यालय तनहुँमा पुर्पक्षका लागि थुनामा थिए । यो अवधि कैदमा जोडिने छ ।

Kids Festival 2022
kanti aarogya hospital

उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

नवलपुर अदालतमा फैसला भएपनि यस्तै मुद्दा जिल्ला अदालत तनहुँमा पनि दर्ता भएको छ । त्यहाँबाट पनि यसअघि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको थियो । नवलपुर अदालतले सफाइ दिएको भए पनि मंगलबार नै उनी थुनामुक्त भने हुने थिएनन् ।

तनहुँ अदालतको फैसलापछि मात्रै उनी कति थुनामा बस्नुपर्छ भन्ने टुंगो लाग्ने छ । तनहुँ अदालतबाट यो भन्दा बढी कैद सजाय भएमा सोही अनुसार उनी फैसला बस्नुपर्छ । तर, तनहुँले यो भन्दा कम अथवा कैद सजाय नगर्ने फैसला गरे पनि नवलपुर अदालतले तोकेजति कैद भुक्तान गरेर मात्रै उनी छुट्ने छन् ।

नवलपुर अदालतमा पल शाहको तर्फबाट ६ जना निजी कानून व्यवसायीले बहस गरेका थिए । सरकारी वकिल कार्यालयको तर्फबाट तीन जनाले बहस गरे । मुद्दाको अन्तिम सुनुवाइमा जाहेरवालाका भने वकिल बहसमा सहभागी भएनन् । यसअघि पुर्पक्ष बहसमा पीडित पक्षका वकिलले पनि बहस गरेका थिए ।

फागुन ११ गते उनीविरुद्ध सुरुमा जिल्ला अदालत तनहुँमा जाहेरी परेको थियो । त्यसको चार दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहले आत्मसमर्पण गरेका थिए । पछि नवलपुर जिल्लामा पनि जाहेरी परेको हो । पछि जाहेरी परे पनि नवलपुर अदालतले भने पहिले फैसला गरेको हो ।

यसअघि थुनछेक आदेशविरुद्ध उच्च अदालतमा निवेदन पर्दा पनि उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको थियो । तर, उच्च अदालत जिल्ला अदालतलाई छिटो फैसला गर्न आदेश दिएको थियो ।

पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए ।

त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको उल्लेख थियो । रिसोर्टमा भएको त्यो दिनको अभिलेखले समेत कलाकार पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रिसोर्टमा बसेको आरोपपत्रमा उल्लेख थियो ।

रिसोर्टका सञ्चालकले त्यो दिन कलाकारहरु रिसोर्टमा बसेको बयान त गरेका छन् नै, साथसाथै कलाकार शाहले मदिरा सेवन गरेका समेत उल्लेख थियो । पछि पीडित गायिकाले अभिव्यक्ति बदल्दै आफूमाथि बलात्कार नभएको भनी जिल्ला अदालतमा बयान गरेकी थिइन ।

थप समाचार

नायक पल शाह यसकारण दोषी हुन्

पल शाह प्रकरणमा ट्वीस्ट : नाबालिग गायिकाले फेरिन् बयान

पल शाह प्रहरी नियन्त्रणमा

पल शाह पुर्पक्षका लागि जेल चलान

पल शाहविरुद्ध जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी

अभिनेता पल शाहले भने– ‘कानूनलाई सम्मान गर्दै आज प्रहरीसामु म आफैं उपस्थित हुनेछु’