बाँकेका सरकारी ‘दफ्तर’मा कोरोना !

बजारमा भीडभाड, न मास्क न सामाजिक दूरी कायम


बाँकेका सरकारी ‘दफ्तर’मा कोरोना !

नेपालगन्ज १३ माघ : कोरोना भाइरस संक्रमणको रेडजोनमा रहेको बाँकेमा यतिबेला कोभिड–१९ संक्रमित संख्या उकालो लागेकोछ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा बिहीबार बेलुकासम्म सक्रिय संक्रमित ९२३ पुगेकोछ ।

केन्द्रका अनुसार हाल भेरी अस्पतालमा २१ जना महिला र ८ जना पुरुष गरि २९ जना र ४०९ जना महिला तथा ५०१ जना पुरुष विभिन्न आइसोलेसनमा रहेकाछन् । कोरोना संक्रमण उकालो मात्र लागेको छैन जिल्लाका सबै पालिकामा यसले आफ्नो उपस्थिती जनाइसकेकोछ ।

बढ्दो कोरोना संक्रमण नियन्त्रण तथा यसको उचित व्यवस्थापनका लागि भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले यही पुष २७ गते विभिन्न ५ बुँदे आदेश जारी गर्दै भिडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

कोभिड–१९ नियन्त्रणका लागि प्रशासनले यस्तो आग्रह गरेपनि यसको उचित र प्रभावकारी कार्यान्वयनमा स्वयम प्रशासन मौन बन्दा यतिबेला जिल्ला प्रशासन कार्यालय बाँके सहित जिल्लाका सरकारी सरकारी कार्यालयका कर्मचारी कोरोना संक्रमित हुनेक्रम बढेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यही माघ ३ गते बाँकेको नरैनापुर गाउँपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सूचना जारी गरे । त्यसको ठिक तीन दिनपछि माघ ६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेसहित १४ वटा जिल्लालाई कोरोनाको रेड जोनमा राख्यो ।

कोरोनाको रेड जोनमा बाँके परेसंगै बाँके प्रशासनले बढ्दो कोरोना संक्रमण र यसको रोकथामका लागि आवश्यक कदम उठाउनु पर्ने थियो तर, प्रशासनले यसका लागि प्रभावकारी कदम उठाउन सकेन । बरु सीमानाका, आइसोलेसन र अस्पतालका लागि स्थलगत निरीक्षण गर्ने भन्दै अनुगमनमा निस्क्यो ।

आफूलाई सहज र अनुकुल लाग्ने कार्य जस्तै बजारमा मास्क वितरण, मास्क लगाए नलागएको निरीक्षण गर्दै सस्तो लोकप्रियताका लागि आफू अनुकुल काम गरिरह्यो अन्ततः माघ १० गते जिल्ला प्रशासन कार्यालय बाँकेका केही कर्मचारीमा कोरोना पुष्टि भयो ।

बाँके प्रशासनका केही कर्मचारीलाई कोरोना पुष्टि भएपछि माघ ११ गते मङ्गलबारदेखि अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएकोछ ।

कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड समेत भईरहेका बेला कार्यालयबाटै कोभिड–१९ को फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै हाललाई स्थगित गरिएको बाँके प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सूचना जारी गरे ।

सोही दिन बाँकेको राप्तीसोनारी गाउँपालिकाका र महालेखा परीक्षकको कार्यालयमा कार्यरत गरि १२ जनालाई कोरोना संक्रमण पुष्टी भएपछि गाउँपालिकाले अत्यावश्यक बाहेक अन्य सबै सेवा माघ १५ गतेसम्मका लागि बन्द ग¥यो ।

यतिमात्र होइन नेपाल–भारत सीमा नाका जमुनाह नाकामा रहेको हेल्थ डेस्कका १० जना स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य जाँचमा कठिनाई उत्पन्न भइरहँदा समेत हालसम्म जनशक्ति थप्नेमा प्रशासन उदासिन बनेकोछ ।
हेल्थ डेस्कका स्वास्थ्यकर्मी आफैं संक्रमणको चपेटमा परेपछि जमुनाह नाकामा कोरोना जाँचमा समेत कठिनाई उत्पन्न भइरहेकोछ ।

कोरोनाको जोखिमका बीच बाँकेका सरकारी कार्यालयहरुमा संक्रमण फैलदैँ जानु र एकपछि अर्को कार्यालयहरु बन्द गरिनुले बाँके प्रशासन स्वय कोरोना र यसको जोखिमलाई नजरअन्दाज गरिरहेको पुष्टि हुन्छ । आफैले सार्वजनिक गरेको ५ बुँदे आदेशको प्रभावकारि कार्यान्वयनमा चासो नदिनु र झारा टार्ने सरकारी कामले बाँकेमा कोभिडको जोखिम बढ्दै गएको सहजै भन्न सकिन्छ ।

यसअघि बाँकेमा फ्याट्फुट्ट संक्रमित भेटिएपनि यतिबेला कोरोनाले बाँकेको ८ वटै पालिकामा आफ्नो उपस्थिती जनाइसकेकोछ । भेरी अस्पतालमा भर्ना भएका संक्रमितहरु मध्यपनि ज्यान गुमाउनेको संख्या उकालो लागिरहेकोछ । कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि बाँकेमा उपचाररत ५ जना संक्रमितको ज्यान गइसकेकोछ ।

बाँकेमा प्रत्येक दिन भाइरस सङ्क्रमण हुनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसको संक्रमण तीव्र भए पनि यहाँका मन्दिर, मस्जिद, गुम्बा, सार्वजनिक यातायात, बजारलगायत स्थलमा मानिसको भीड भने घटेको छैन । कोरोनाको सङ्क्रमण तीव्र भए पनि यी क्षेत्रमा भीड नघट्दा जोखिम झन बढ्न थालेको हो ।

यसरी हिँडडुल गर्नेले न मास्कको प्रयोग गर्छन्, न सामाजिक दूरीको पूर्ण पालना गरेको पाइन्छ । कोरोना भाइरस संक्रमणको चेन तोड्न बाँके प्रशासनले जारी गरेको स्वास्थ्य सम्बन्धि ५ बुदेँ आदेश पूर्णरुपमा कार्यान्वयन गराउन भने प्रशासन असक्षम देखिएकोछ ।

थप समाचार

बढ्दो कोरोना संक्रमण रोक्न बाँके प्रशासनले जारी गर्‍याे ५ बुँदे आदेश

सहायक प्रजिअसहित बर्दिया जिल्ला प्रशासनका २१ जना कर्मचारीमा कोरोना पुष्टि, माघ १५ गतेसम्म कार्यालय बन्द

राप्तीसोनारीमा फैलियो कोरोना : गाउँपालिका र महालेखा परीक्षकका १२ कर्मचारी संक्रमित

नरैनापुर गाउँपालिकाका कर्मचारीमा कोरोना फैलियो, ५ दिनका लागि गाउँपालिका बन्द

बाँके सहित १४ जिल्ला ‘रेड जोन’ मा, ७७ वटै जिल्लामा संक्रमण फैलियो

बाँकेमा दिनहुँ संक्रमित थपिन्छन्,रोकथाममा प्रशासन उदासिन

जनशक्ति अभावमा जमुनाह नाकामा स्वास्थ्य जाँच

कोरोनाको कहरमा फेरि जकडिदैं बाँके, बजारमा बेखौफ हिँडडुल गर्छन् सर्वसाधरण

नेपालगन्ज नाकाबाट दिनहुँ ‘कोरोना संक्रमित’ नेपाल आउँछन्

‘संक्रमित बढेसंगै अस्पताल भर्ना हुने दर बढ्न थाल्यो’